पर्सा, वैशाख २० — पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ मा रहेको गढिमाई मन्दिर नजिकैको सीमा क्षेत्र (दसगजा) बाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध गाँजा फेला पारेको छ।
सशस्त्र प्रहरी बलको महादेवपट्टि स्थित बोर्डर आउट पोस्टबाट नियमित गस्तीमा खटिएको टोलीले शुक्रबार बिहान उक्त गाँजा बरामद गरेको हो। टोलीको नेतृत्व प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टले गरिरहेका थिए।
गस्तीका क्रममा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले खोजी गर्ने क्रममा झाडीमा छाडिएको अवस्थामा ४३ किलो ८ सय ग्राम गाँजा फेला परेको जनाइएको छ। सशस्त्र प्रहरीको भनाइअनुसार, सुरक्षाकर्मीको उपस्थिती देखेपछि तस्करहरू गाँजा छाडेर फरार भएका थिए।
बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, सेढवामा बुझाइएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका प्रवक्ता नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
सीमावर्ती क्षेत्र हुँदै लागुऔषध तस्करी बढ्दो
पछिल्लो समय भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा लागुऔषधको ओसारपसारमा वृद्धि भएको देखिएको छ। सशस्त्र प्रहरीले सीमामा नियमित गस्ती बढाएको बताएको छ, तर तस्करहरूले विभिन्न उपायबाट अवैध कारोबारलाई निरन्तरता दिइरहेका छन्।


