पर्सा जिल्लाको पोखरिया नगरपालिकामा ठूलो परिमाणमा लुकाइएको चरेस सशस्त्र प्रहरीले बरामद गरेको छ।
पोखरिया नगरपालिका–२, मननपुरस्थित बाँसको झ्याङभित्र बेवारिसे अवस्थामा राखिएको चरेस प्रहरीले विशेष सुराकीका आधारमा फेला पारेको हो। खानेतेल राख्ने प्लास्टिक ग्यालेन प्रयोग गरी चरेस लुकाइएको अवस्थामा प्रहरीले बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहका अनुसार बरामद चरेसको तौल २४ किलो ५०० ग्राम रहेको छ। चरेस कसले राखेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनास्थल वरपर निगरानी बढाइएको र लागूपदार्थ कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि थप अनुसन्धान जारी रहेको पनि प्रहरी स्रोतले जानकारी दिएको छ।


