बैशाख २६, वीरगञ्ज
पर्सा — पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ स्थित आजाद मदरसा तालिमुल कुरान परिसरमा दुई दिनसम्म सञ्चालन भएको विशेष इस्लामिक सम्मेलन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। “इज्लास–ए–त्तम इस्लाह–ए–मोआशरा व दस्तारवन्दी अराकिने जल्सा” शीर्षकमा आयोजना गरिएको सम्मेलनमा नेपाल र भारतका नामी इस्लामिक विद्वान तथा वक्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
समारोहको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले परम्परागत शैलीअनुसार गमलामा पानी हालेर गरेका थिए। सम्मेलनमा कुरान तथा हिन्दू धर्मका वेदहरूबारे समेत चर्चा हुँदै धार्मिक सहिष्णुता र सामाजिक समरसतामा बल दिइएको थियो।
वीरगञ्ज महानगरपालिका उप–प्रमुख इम्तियाज आलमले आफ्नो सम्बोधनमा अहिले समाजमा भेदभाव फैलाउने प्रवृत्तिहरू सक्रिय रहे पनि यस्ता कार्यक्रमहरूले समावेशी समाज निर्माणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। “हामी विविध संस्कृतिको बगैंचामा छौं, यस्ता जमघटहरूले हाम्रो एकता झल्काउँछन्,” उनले भने।
कार्यक्रममा पूर्व सांसद हरिनारायण रौनियार, नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उप–मेयर रुबी ठाकुर, पूर्व मेयर दीपनारायण रौनियार, समाजसेवी निजामुद्दीन समानीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
साथै छपकैया, वीरगञ्ज र आसपासका विभिन्न क्षेत्रका स्थानीय नेताहरू, धर्मगुरुहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको अध्यक्षता खैरुल्लाह मियाँले गरेका थिए भने सञ्चालन गनि अंसारीले गरेका थिए।
सम्मेलनका मुख्य उद्देश्यहरूमा धार्मिक शिक्षाको प्रचार, सामाजिक एकता, र युवा पुस्तामा नैतिक शिक्षा प्रवाह गर्नु रहेको आयोजकले जानकारी दिएका छन्।
यस्तो कार्यक्रमले धार्मिक मात्र नभई सामाजिक दृष्टिले समेत सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।


