जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भइ आएका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले वीरगञ्जका सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनको आयोजना गरेका छन्। उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सामै सम्पन्न भएको हो।
पत्रकार सम्मेलनका क्रममा एसपी मिश्रले आफ्नो कार्यकालभरि इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले राम्रो कार्य गर्नेहरूलाई पुरस्कृत गरिने र गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे। उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
पर्सा प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका मिश्रले अठार वर्षअघि इन्स्पेक्टरका रूपमा वीरगञ्जमा गरेको सेवा सम्झँदै भने, “यहाँ आइपर्ने हरेक चुनौतीको सामना गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने छु।”
उनले ग्रामीण क्षेत्रमा बाल विवाह, बहुविवाह, लैंगिक हिंसा, महिला हिंसा, घरेलु हिंसा, अवैध मदिरा उत्पादन, लागुऔषधको बिक्री–वितरण जस्ता सामाजिक समस्यालाई नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको बताए। औद्योगिक तथा आर्थिक गतिविधिले भरिएको पर्सा जिल्लामा आर्थिक र सामाजिक अपराध बढ्दो रहेको भन्दै उनले त्यस्ता आपराधिक गतिविधिहरू रोक्न कडा कदम उठाइने प्रतिबद्धता व्यक्त गरे।
परिचयात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी प्रमुख तथा वीरगञ्जका विभिन्न मिडियाका पत्रकारहरूको उपस्थिति रहेको थियो।


