अभिलाष गुप्ता
चैत १६ बिरगंज
काठमाडौंमा भएको राजावादीहरूको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घ पर्साले शनिवार बिहान वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गरेको छ ।बदलिएको परिस्थितिका कारण महासङ्घले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासङ्घले मनाउने निर्णय गरेको थियो ।
शुक्रवार काठमाडौँमा तीनकुनेमा राजवादीहरूले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार रजकको आगलागीमा परेर मृत्यु भएको थियो । राजवादीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेपछि त्यहाँ एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।घरमा आगलागी भएपछि अन्य सबै त्यहाँबाट आफ्नो ज्यान जोगाउने उद्देश्यले बाहिर निस्के पनि आफ्नो कर्तव्य प्रति इमानदार रजकले त्यहीँ बसेर निरन्तर रिपोर्टिङ गरिरहेका थिए ।
विरोधमा उत्रिएका पत्रकारहरूले रजकको हत्यारामाथि कारबाही हुनुपर्ने माग राखेका थिए ।आफ्नो ज्यान जोखिममा राखेर आम सर्वसाधारणलाई सुसूचित गर्ने पत्रकारहरूको सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने पनि उनीहरूले माग गरेका थिए ।विरोधमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान लगायतको उपस्थिति रहेको थियो ।


