वीरगञ्ज, छपकैया: नेपाल जनता पार्टीले छपकैया निवासी जफर अन्सारीमाथि कडा कानूनी कारवाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
पार्टीको पर्सा जिल्ला समितिले मङ्गलबार नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको कार्यक्रममा अन्सारीले हिन्दू आस्थामाथि अपमानजनक टिप्पणी गरेको र समाजमा विभाजन ल्याउने क्रियाकलाप गरेको आरोप लगाएको छ।

ज्ञापन पत्रमा हिन्दू समाजमाथि बारम्बार हुने आक्रमणप्रति कडा आपत्ति जनाउँदै पार्टीले यस प्रकारको गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताएको छ। नेपाल जनता पार्टीले देशको बहुमत जनसंख्या सनातन धर्मावलम्बी रहेको उल्लेख गर्दै समाजमा ध्रुवीकरण बढाउने कार्य रोक्न तत्पर हुन आग्रह गरेको छ।

धर्मनिरपेक्षताको नाममा हिन्दू आस्थामाथि खेलवाड भइरहँदा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ र दोषीमाथि तुरुन्त कारवाही नभए संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएको छ।
ज्ञापन पत्रमा पार्टीका पर्सा अध्यक्ष अनिल कुर्मीको हस्ताक्षर रहेको छ। यो पत्र गृह मन्त्रालय, मधेश प्रदेश गृह मन्त्रालय जनकपुरधाम, र जिल्ला प्रहरी कार्यालय पर्सालाई समेत बोधार्थ पठाइएको छ।


