वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको परिसरमा वीरगञ्ज समाज सेवाले आफ्नो २९औं साप्ताहिक कार्यक्रम अन्तर्गत निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ। यस अवसरमा अस्पतालमा उपचार गराइरहेका बिरामी, असहाय, रिक्सा चालक, ठेला तथा इरिक्सा चालक गरी ५५० जनालाई निःशुल्क भोजन वितरण गरिएको थियो।
कार्यक्रमको नेतृत्व वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले गरेका थिए। सचिव प्रकाश बाहेतीका अनुसार यस्तो भोजन शिविर हरेक शनिबार नियमित रूपमा सञ्चालन गरिन्छ।
यसपटकको भोजन शिविरमा २ बोरा चामलको भात, दाल, आलु परवलको तरकारी र भुटेको हरियो खुर्सानी सहितको स्वादिलो भोजन वितरण गरिएको थियो। अध्यक्ष गुप्ताले यो भोजन घरमै पकाएको जस्तै स्वादिलो र पोषिलो रहेको भन्दै उपस्थितलाई सेवाको महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अन्य सदस्यहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष बिनोद सरार्फ, सदस्यहरू अभिलाष गुप्ता, मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, र नवनित अग्रवाल लगायतको सक्रियता रहेको थियो।
अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्दै गरिब, दुखी र असहायलाई सहयोग गर्नु नै मानव धर्मको प्रमुख पक्ष भएको बताए।


