वीरगंज – पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा स्टाफ नर्स नियुक्तिको परीक्षामा गम्भीर अनियमितताको आरोप लागेको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई मात्र पास गराइएको भन्दै परीक्षामा आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएको छ।
अस्पतालका प्रमुख मेडिकल सुप्रिन्टेन्डेन्ट चुमन लाल दास र नर्सिङ प्रमुख श्रुति साहमाथि आर्थिक लेनदेन गरी आफ्ना निकटका स्वास्थ्यकर्मीलाई मात्र उत्तीर्ण गराएको आरोप लागेको छ। स्रोतका अनुसार उनीहरूले परीक्षामा सहभागी स्वास्थ्यकर्मीहरूसँग एक देखि दुई लाखसम्मको रकम असुलेका छन्।
अस्पताल विकास समितिमा पनि आपत्ति
अस्पताल विकास समितिका सदस्यहरूले समेत अनियमिततामा आपत्ति जनाएका छन्। एक सदस्यले नाम नखुलाउने शर्तमा भने, “मेसु दास र नर्सिङ प्रमुख साहको मिलोमतोले परीक्षाको निष्पक्षता गुमेको छ। उनीहरूले आर्थिक चलखेल गरी आफ्ना मान्छे मात्र पास गराएका छन्।”
२०७६ को कार्यविधि अनुसार गठन गरिएको छनोट समितिले गत शुक्रबार लिखित परीक्षा सञ्चालन गरेको थियो। ५९ जना सहभागी परीक्षामा पास हुने सूचीमा आर्थिक चलखेलमा संलग्न व्यक्तिहरूको नाम मात्र समावेश गरिएको आरोप लगाइएको छ।

परीक्षामा दुई किसिमका मापदण्ड
परीक्षामा दुई किसिमका मापदण्ड अपनाइएको पनि सहभागीहरूले बताएका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई मात्र अन्तरवार्ता लिने र बाहिरबाट आएका उम्मेदवारलाई लिखित र मौखिक परीक्षा गराइएको छ। यसले परीक्षाको निष्पक्षतामा थप शंका उब्जाएको छ।
मेसु दासको प्रतिक्रिया अभाव
परीक्षामा भएको अनियमितताबारे बुझ्नका लागि मेसु दासलाई सम्पर्क गर्दा उहाँको मोबाइल फोन बन्द रहेको पाइएको छ।
अस्पताल विकास समितिले भने निष्पक्ष परीक्षा लिन र यसअघि भएको परीक्षा खारेज गर्न माग गर्दै दबाब दिएको छ। परीक्षामा संलग्न अन्य व्यक्तिहरू पनि विवादमा परेका छन्। समितिले निष्पक्ष छानबिनको माग गरेको छ।
यो घटनाले नारायणी अस्पतालको व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ। अस्पताल प्रशासनले यसबारे चाँडै स्पष्टीकरण दिनुपर्ने मागसमेत उठ्न थालेको छ।



