बीरगंज, माघ १६
नवदीप एकेडेमीले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा भव्य खेलकुद कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम वीरगंज महानगरपालिका क्षेत्रअन्तर्गत जिल्ला प्रहरी कार्यालयको पछाडिपट्टि अवस्थित विपद् व्यवस्थापन गुल्मको खाली मैदानमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह उपस्थित रहेका थिए भने नवदीप एकेडेमीकी संचालिका एवं प्रधानाध्यापिका तथा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह को अध्यक्षतामा कार्यक्रम सञ्चालन भयो।
सो अवसरमा प्रदेश सभा सदस्य तथा युवा नेता रहबर अन्सारी ले विद्यालयको योगदानको प्रशंसा गर्दै आधुनिक शिक्षाका साथै विद्यार्थीलाई विभिन्न क्षेत्रमा अगाडि बढाउने कार्य प्रशंसनीय रहेको बताए। उनले विद्यालयको गतिविधि देखेर आफू अत्यन्त खुसी भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ प्रगति होस् भन्ने शुभकामना व्यक्त गरे। साथै, उनले बालबालिकाहरूको नृत्य प्रस्तुति, सांस्कृतिक विविधता झल्काउने कार्यक्रम तथा उत्कृष्ट शिक्षण प्रणालीप्रति सराहना गर्दै आफूले गर्न सक्ने सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
वार्षिकोत्सवको अवसरमा पी.जी. देखि कक्षा ८ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरिनुका साथै विभिन्न विधामा अब्बल रहेका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो। विद्यालयका पुराना पाँच वर्षभन्दा बढी सेवा पुर्याएका शिक्षक तथा शिक्षिकाहरूलाई पनि विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एस.पी. गौतम मिश्रा, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश मानव सेवा, कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रभु अस्पतालकी संचालिका लक्ष्मी थापा, लायन्स क्लबका प्रतिनिधि नरोत्तम पाण्डे, समाजसेवी सन्दीप साह लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नवदीप एकेडेमीका शिक्षक आदित्य यादव र नेहा अग्रवाल ले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका रानी प्रजापति ले व्यक्त गरेकी थिइन्।


