वीरगञ्ज — काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर सडक खण्डमा आज भइरहेको शिक्षक आन्दोलन तनावग्रस्त बनेपछि झडपमा परिणत भएको छ, जसमा ६५ जना शिक्षक घाइते भएका छन्।
शिक्षक समूह निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न प्रयास गरेको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि दुवै पक्षबीच भिडन्त भएको हो। प्रहरीले पानीको फोहोरा र लाठी चार्जसमेत गरेको बताइएको छ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शङ्कर अधिकारीले आन्दोलनका क्रममा ६५ जना शिक्षक घाइते भएको पुष्टि गरेका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। अधिकारीले घटनालाई ‘प्रहरीको अतिरेक हस्तक्षेप’ भन्दै भत्र्सना गरेका छन्।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच विगत केही दिनदेखि शिक्षक सेवा संरचना र अधिकारका विषयमा विवाद जारी छ।


