२ जेष्ठ, वीरगञ्ज
पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित सानो धोबिनीमा हालै भएको आगलागीबाट पीडित भएका परिवारलाई वीरगञ्ज कपडा बैंकले राहत सामग्री वितरण गरेको छ।
वीरगञ्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अध्यक्ष लालबाबु सिंह, तथा सचिव कन्हैया पटेलसहितको टोलीले पीडित सफी अहमद अन्सारीको घरमै पुगेर दुई बोरा लत्ताकपडा, दुई थान कम्बल, पाँच थान बेडसिट, एक बोरा चिउरा, पाँच केजी मिठाई, एक किलो चना र रु २,१०० नगद राहत स्वरूप हस्तान्तरण गरेका हुन्। नगद सहयोग अधिवक्ता गुप्ताले व्यक्तिगत रूपमा प्रदान गरेका थिए।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष मनौवर अहमद र नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सहकोषाध्यक्ष तथा समाजसेवी सल्लाउद्दीन अहमदको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कपडा बैंकका सल्लाहकार गुप्ताले, “तपाईंसँग धेरै छ भने दिनुस्, कम छ भने लिनुस्” भन्ने नारालाई आत्मसात गर्दै विगत ६ वर्षदेखि वीरगञ्ज कपडा बैंकले समाजसेवामा समर्पित हुँदै आएको बताए। उनले आपत् विपत् र दुःखद घटनाहरूमा प्रत्यक्ष पीडितसम्म पुगेर सहायता पुर्याउनु नै सच्चा मानवता भएको उल्लेख गर्दै अन्यलाई पनि सहयोगी बन्न आग्रह गरे।
वडा अध्यक्ष अहमद र समाजसेवी सल्लाउद्दीनले वीरगञ्ज कपडा बैंकले देखाएको मानवीयताको प्रशंसा गर्दै यस्तो सेवा कार्य समाजका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।
गत बुधबार दिउँसो भएको आगलागीमा अन्सारीको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको थियो। घटनामा घरमा रहेका १० वटा बाख्रा, नगद रकम, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री नष्ट भएको थियो। आगलागीको कारण खुल्न बाँकी छ।


