६ वैशाख, वीरगञ्ज । देशभरका बालबालिकाको पोषण र स्वास्थ्य सुरक्षाका लागि सरकारले आज (शुक्रबार) र भोलि (शनिबार) दुईदिने भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्दैछ। ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत करीब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने एकदेखि पाँच वर्षका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि दिइनेछ।
कार्यक्रममा ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी सक्रिय रूपमा सहभागी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भिटामिन ‘ए’ र जुकाको औषधिको महत्व
नेपालमा बालबालिकामा कुपोषण अझै गम्भीर समस्या बनेको छ। भिटामिन ‘ए’ले आँखाको दृष्टि सुरक्षित राख्नुका साथै रतन्धो र अन्धोपनको जोखिम घटाउँछ। यस्तै, जुकाको औषधिले शरीरभित्र रहेका परजीवीहरू हटाउन सहयोग गर्छ, जसले बालबालिकालाई कमजोर र कुपोषित हुनबाट जोगाउँछ।
कार्यक्रमको पृष्ठभूमि
भिटामिन ‘ए’ क्याप्सुल कार्यक्रम सन् १९९३ मा आठ जिल्लाबाट सुरुवात गरिएको थियो भने सन् २००२ मा यसलाई राष्ट्रिय स्तरमा विस्तार गरिएको हो। जुकाको औषधि कार्यक्रम सन् १९९९ मा सुरु भई २०१० मा देशव्यापी रुपमा लागू गरिएको थियो। साथै, बालभिटा वितरण कार्यक्रम सन् २००७ बाट थालिएको हो।
सरकारले यो कार्यक्रम प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा नियमित रूपमा निःशुल्क सञ्चालन गर्दै आएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यो कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ।


