पर्सा — सुनको सिक्री नपाएको निहुँमा विवाह तोड्ने बेहुला र उनका आफन्तमाथि पर्सा जिल्ला अदालतले कारवाहीको कडा फैसला सुनाएको छ। विवाह मण्डपमै दाइजोको अतिरिक्त माग राखेर विवाह रोक्ने दोषीलाई अदालतले कैद, जरिवाना र दाइजो रकम फिर्ता गर्न आदेश दिएको हो।
२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित रमिता कुमारी साहको विवाह समारोहमा बेहुला उमेश साह र उनका परिवारजनले सुनको सिक्री माग्दै झगडा सुरु गरेका थिए। सामाजिक र पारम्परिक रूपमा चलिरहेको विवाह समारोहमा बेहुला पक्षको यथार्थ भन्दा बढीको दाइजो मागले स्थिति तनावपूर्ण बनेको थियो। विवादले हिंसात्मक रुप लिँदै गालीगलौज र कुटपिटसम्म पुगेपछि बेहुला पक्ष मण्डप छाडेर फर्किएका थिए।
सोही घटनापछि रमिताका परिवारले फागुन २९ गते पर्सा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रहरीको सक्रियतामा बेहुला उमेशसहित उनका बुवा बच्चालाल साह, दाजु राकेश साह, मुकेश साह र भिनाजु रामएकबाल साहलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूमाथि विवाहसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको थियो।
न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहरिएका सबै पाँच जनालाई जनही ६–६ महिनाको कैद, ५ हजार रुपैयाँ जरिवाना र दाइजोस्वरूप लिएको ५ लाख ६५ हजार रुपैयाँ पीडित पक्षलाई फिर्ता गर्न आदेश दिएको हो।
यो फैसलाले दाइजोका नाममा हुने महिलामाथिको अत्याचार, जबर्जस्ती माग र सामाजिक अपमानका विरुद्ध स्पष्ट सन्देश दिएको छ। सामाजिक सञ्जालमा समेत अदालतको यो निर्णयको व्यापक स्वागत भएको छ।
यस घटनाले नेपाली समाजमा अझै पनि दाइजो प्रथाले जरा गाडेको यथार्थलाई उजागर गर्नुका साथै, कानुनी चेतनाको आवश्यकता झनै स्पष्ट पारेको छ।


