Oplus_131072
वीरगञ्ज:
समाजमा अझै गहिरो रूपमा जरा गाडेर बसेको दाइजो (दहेज) प्रथाविरुद्ध चेतना फैलाउने उद्देश्यका साथ नयाँ भोजपुरी सामाजिक गीत “दाल दरेम राजा तोहरा करेज प” सार्वजनिक गरिएको छ। उक्त गीतले दाइजोका कारण वैवाहिक जीवनमा उत्पन्न हुने समस्या र त्यसले पारिवारिक सम्बन्धमा पार्ने नकारात्मक असरलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतको भिडियोमा दाइजो लिएर गरिएको विवाहपछि देखिने व्यवहारिक समस्याहरू चित्रण गरिएको छ। भिडियो कथावस्तु अनुसार विवाहपछि पत्नीले घरको जिम्मेवारीमा चासो नदेखाउने, पतिको कुरा नसुन्ने र “दाइजो लिएर विवाह गरिएको हो, अब किन काम गर्नुपर्यो?” भन्ने मानसिकता देखाउने अवस्था देखाइएको छ। यसले पतिमा मानसिक तनाव बढाउने मात्र होइन, सम्मान र समझदारीको अभावका कारण पारिवारिक असन्तुलन सिर्जना हुने सन्देश गीतमार्फत दिइएको छ।
गीतले दाइजो प्रथाले प्रेम, सम्मान र सहयोगमा आधारित वैवाहिक सम्बन्धलाई कमजोर बनाउने स्पष्ट सन्देश दिन्छ। सच्चा दाम्पत्य जीवन बराबरी, आपसी समझदारी र सम्मानमा आधारित हुनुपर्नेमा गीतले जोड दिएको छ। दाइजो त्यागे मात्र स्वस्थ र सुखी परिवार निर्माण सम्भव हुने धारणा गीतको मूल सन्देशका रूपमा प्रस्तुत गरिएको छ।
उक्त गीतका गीतकार उमालाल जी हुन् भने कलाकारका रूपमा दीपेश शर्मा र पारुल यादव देखिएका छन्। गीतमा चन्दन प्रजापति र शिवानी सिंहको स्वर रहेको छ। गीतको निर्माण नितेश मेहताले गरेका हुन्। सामाजिक सन्देश बोकेको यस भोजपुरी गीतले दाइजोविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


