बिरगञ्ज — पछिल्लो समय ठाकुर राम बहुमुखी क्याम्पसमा जारी आन्दोलनका बीच विद्यार्थी संगठनहरूले वार्षिक परीक्षा प्रभावित हुन नदिनका लागि परीक्षा शाखाको तालाबन्दी अस्थायी रूपमा खोल्ने निर्णय गरेका छन्।

मिति २०८२ जेठ ४ गते जारी गरिएको प्रेस विज्ञप्तिमा आन्दोलनरत संगठनहरूले चौथो वर्षका विद्यार्थीहरूको वार्षिक परीक्षा नजिकिएकाले शैक्षिक गतिविधिमा बाधा नपरोस् भन्ने हेतुले यस्तो निर्णय गरिएको उल्लेख गरेका छन्।
“विद्यार्थीको भविष्यप्रति हाम्रो संगठन सधैं प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ, “यसैले परिक्षालाई मध्यनजर गर्दै परीक्षा शाखा अस्थायी रूपमा खोल्ने निर्णय गरेका हौं।”
संगठनहरूले क्याम्पस प्रशासनसँग वार्ता र शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो माग समाधान गराउन पहल जारी राख्ने स्पष्ट पारेका छन्। उनीहरूले प्रशासनलाई पुनः आग्रह गर्दै भनेका छन्, “हाम्रा मागहरूलाई गम्भीरतापूर्वक लिएर निष्पक्ष र प्रभावकारी ढंगले समाधान तर्फ अघि बढ्नुपर्छ।”
उक्त निर्णयले आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाउने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ। परीक्षा शाखा मात्र अस्थायी रूपमा खोलिने भए पनि अन्य आन्दोलनका कार्यक्रम भने यथावत रहने जनाइएको छ।


