पर्सा— कर्मचारी सरुवाको विरोधमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघद्वारा गरिएको तालाबन्दीका कारण नौ दिनदेखि ठाकुरराम बहुमुखी क्याम्पसका प्रशासनिक काम ठप्प भएका छन्।

क्याम्पसमा कार्यरत सहायक स्तरका कर्मचारीहरूको ११ महिनामै घरपायक सरुवा गरिनु त्रिभुवन विश्वविद्यालय ऐन र नियमविपरीत भएको उनीहरूको आरोप छ। यही कारण कर्मचारीहरूले विरोधमा तालाबन्दी गर्दै प्रशासनिक कामकाज ठप्प पारेका हुन्।
यस आन्दोलनलाई एकीकृत प्रगतिशील प्राध्यापक संगठन, ठाकुरराम क्याम्पस इकाइले पनि समर्थन जनाएको छ। संगठनका अध्यक्ष अजयकुमार झा र सचिव इन्द्र भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै बुधन मुखियाको सरुवा फिर्ता गर्न माग गर्दै आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।
कर्मचारी अभावका कारण क्याम्पसमा प्रशासनिक शाखाहरू सञ्चालन गर्न गाह्रो भइरहेको संगठनको दाबी छ। कतिपय सिफ्टमा कार्यालय सहयोगीबाट पुस्तकालय र विद्यार्थी कल्याण शाखा जस्ता महत्वपूर्ण विभागहरू चलाउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
संगठनले क्याम्पसमा देखिएका बेथिति, विकृति र विसंगतिहरूले शैक्षिक वातावरण बिगारिरहेको आरोप लगाएको छ। क्याम्पस नेतृत्वले सुधारका लागि कुनै चासो नदेखाएको भन्दै संगठनले त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायलाई तत्काल समाधानका लागि हस्तक्षेप गर्न आग्रह गरेको छ।
कर्मचारीहरूको न्यायपूर्ण आन्दोलनप्रति समर्थन जनाउँदै संगठनले क्याम्पसको शैक्षिक र प्रशासनिक व्यवस्थापनलाई सुधार गर्न आग्रह गरेको छ। साथै, कर्मचारीहरूको मागप्रति तत्काल ध्यान दिन सम्बन्धित पक्षलाई अपिल गरेको छ।


