बारा प्रहरीले लागुऔषध मुद्दामा दोषी ठहर भई केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा पुर्पक्षका लागि थुनामा रहेका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा करैयामाई गाउँपालिका–७ पिपरा निवासी २९ वर्षीय विवेक चौधरी र २३ वर्षीय कृष्णा चौधरी रहेका छन्।
प्रहरी चौकी बारागढीबाट परिचालित टोलीले उनीहरूलाई करैयामाई गाउँपालिका–७ पिपरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार लागुऔषध मुद्दामा पुर्पक्षका लागि उनीहरूलाई केन्द्रीय कारागार चलान गरिएको थियो।
नयाँ पुस्ताका युवाहरू (जेन–जी) द्वारा गरिएको आन्दोलनका क्रममा उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै गत भदौ २४ गते दुवै जना कारागार तोडी फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगञ्ज, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।


