काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा विविध क्षतिबाट निर्जीवन बीमा क्षेत्र ठूलो आर्थिक दायित्वमा परेको छ। उपलब्ध विवरणअनुसार, विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा कुल २३ अर्ब ४५ करोड रुपैयाँ बराबरका ३ हजार ३०३ वटा बीमा दाबी दर्ता भएका छन्।
दर्ता भएका दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित करिब ५ अर्ब १८ करोड रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकेका छन्। नेपाल बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कले भुक्तानी प्रक्रिया क्रमशः अगाडि बढिरहेको देखाउँछ।
क्षतिका प्रकारअनुसार हेर्दा, सम्पत्ति बीमातर्फ ७१० वटा दाबीबाट करिब १९ अर्ब २ करोड रुपैयाँको क्षति आँकलन गरिएकोमा हालसम्म करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यस्तै, मोटर बीमातर्फ २ हजार ३११ वटा दाबीबाट करिब ३ अर्ब ४७ करोड रुपैयाँ दाबी परेकोमा करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा २२५ वटा दाबीबाट करिब ५५ करोड ४७ लाख रुपैयाँ दाबी परेको छ, जसअन्तर्गत करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएको छ। परिवहन बीमातर्फ १२ वटा दाबीबाट करिब १ करोड ६९ लाख रुपैयाँ माग भएकोमा करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ। त्यसैगरी, अन्य बीमातर्फ ४५ वटा दाबीबाट करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी उठेकोमा अग्रिम भुक्तानीसहित करिब ५ करोड ५० लाख रुपैयाँ वितरण गरिएको छ।
बीमा कम्पनीहरूको दायित्व सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले पनि सहयोग पुर्याएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित क्षतिको पुनर्बीमा दाबी भुक्तानीका रूपमा पुनर्बीमा कम्पनीले करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित निर्जीवन बीमा कम्पनीहरूलाई उपलब्ध गराइसकेको छ। हाल नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट २ हजार ८६२ वटा पुनर्बीमा दाबी दर्ता छन्, जसको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
सम्बन्धित निकायका अनुसार बाँकी दाबीहरूको मूल्याङ्कन र भुक्तानी प्रक्रिया निरन्तर जारी रहेको छ।


