दाङ, पुस २८-
प्युठान जिल्लामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:४० बजे माण्डबी गाउँपालिका – ३, अरुण खोला नजिकै भे १ ज ७३४ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकको दायाँतर्फको पर्खालमा ठोक्किएको थियो।

दुर्घटनामा परेर घाइते भएकामध्ये चालक कपिलबस्तुको शिवराज नगरपालिकाका २५ वर्षीय विजय कौशोधनको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेश वस्यालका अनुसार टाउकोमा गम्भीर चोट लागेका कौशोधनलाई अचेत अवस्थामा उद्धार गरी तुरुन्तै अस्पताल पठाइएको छ।

घाइतेहरूमध्ये रोल्पाको सुनछहरी गाउँपालिका- १ का ८० वर्षीय खलवीर घर्ती, ७६ वर्षीया चम्फा घर्ती, र झापाको दमक नगरपालिका- ८ का ३८ वर्षीय उमानाथ भट्टराईको अवस्था मध्यम रहेको जनाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।


