वीरगञ्ज । समाजमा समानता, आपसी माया र सद्भावको भावना अभिवृद्धि गर्ने उद्देश्यले हिन्दू स्वयंसेवक संघ नेपालले पर्साको ऐतिहासिक गहवामाई मन्दिर परिसरमा भव्य रूपमा ‘समरसता उत्सव’ सम्पन्न गरेको छ। माघे सङ्क्रान्तिको पावन अवसर पारेर २०८२ साल माघ १ गते आयोजित कार्यक्रममा भक्तजनका लागि महाप्रसाद वितरणसमेत गरिएको थियो।
कार्यक्रमको उद्घाटन विश्व हिन्दू परिषद नेपालका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। आयोजक संस्थाका अनुसार धार्मिक आस्था, सांस्कृतिक मूल्य र सामाजिक एकतालाई बलियो बनाउँदै समुदायबीच आपसी समझदारी र भाइचाराको विकास गर्नु उत्सवको मुख्य लक्ष्य रहेको थियो।
‘संगठित हिन्दू, सशक्त नेपाल’ भन्ने मूल भावनालाई आत्मसात गर्दै आयोजित समरसता उत्सवमा समाजका विभिन्न तह, वर्ग र समुदायका नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विश्व हिन्दू परिषद नेपाल पर्साका सचिव दीपेन्द्र सर्राफले यस्तो कार्यक्रमले सबै समुदायलाई एउटै थलोमा ल्याई सामाजिक एकता र सद्भावको सकारात्मक सन्देश प्रवाह गरेको बताए।


