वीरगञ्ज, २० वैशाख —
वीरगञ्ज उद्योग वाणिज्य संघले खुद्रा व्यवसायीहरूको समस्यामा चासो व्यक्त गर्दै शनिबार संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत व्यवसायीहरूका दैनिक समस्या सुनिने र समाधानका उपायहरू खोजिने प्रतिवद्धता जनाइएको छ।
संघका अध्यक्ष हरि गौतमले खुद्रा व्यवसायीहरूलाई नेपाली बजारको मेरुदण्डको रूपमा चित्रण गर्दै संघ सधैं उनीहरूको पक्षमा रहने बताए। “खुद्रा व्यवसायीहरूले भोग्दै आएका चुनौतीहरू हाम्रो साझा चिन्ता हो। हामी कानूनी मर्यादाभित्र रही व्यापार गर्न सुझाउँदै, उनीहरूको हकहितका लागि निरन्तर लागिरहनेछौं,” अध्यक्ष गौतमले कार्यक्रममा स्पष्ट पारे।
कार्यक्रममा संघका पदाधिकारी, विभिन्न व्यवसाय संघका प्रतिनिधि र खुद्रा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। छलफलका क्रममा व्यवसायीहरूले अनियमित निरीक्षण, कर प्रणालीको स्पष्टता अभाव, र स्थानीय प्रशासनसँग समन्वयको चुनौतीजस्ता विषय उठाएका थिए।
संघले यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने जनाएको छ। व्यवसायीहरूसँगको नियमित संवादबाट व्यापारिक वातावरण सहज बनाउने संघको भनाइ छ।


