काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरूलाई हालसम्मका प्रगति तथा कामको विवरण तथ्यसहित पेश गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा आज सम्पन्न उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका कामहरूको लेखाजोखा गर्ने उद्देश्यले सबै निकायलाई लिखित रूपमा विवरण पेस गर्न भनेका हुन्।

मन्त्री यादवले भने, “खानेपानीका क्षेत्रमा भएका प्रगतिहरू र बाँकी रहेका कार्यहरूको तथ्यांक स्पष्ट रूपमा पेस गर्नुहोस्। यसले आगामी योजनाहरू बनाउँदा र कार्यान्वयन गर्न सहज हुनेछ।”
बैठकमा उनले तोकिएको समयभित्र कतिपय आयोजनाका काम सम्पन्न नभएको उल्लेख गर्दै, ढिलासुस्तीका कारण र समस्याबारे स्पष्ट विवरण माग गरेका छन्।
मन्त्रालय अन्तर्गतका निकायहरूले आफ्नो कामबारे नियमित जानकारी गराउन र समस्याहरू समाधान गर्न उच्च व्यवस्थापन समूहको बैठक मासिक रूपमा आयोजना गर्न पनि उनले निर्देशन दिए।
बैठकमा सचिव प्रमिला देवी शाक्य बज्राचार्यसहित विभागीय प्रमुखहरू र विभिन्न आयोजना प्रमुखहरूले आफ्ना कार्यालयका कामको प्रगतिबारे जानकारी दिएका थिए।
यस अवसरमा मेलम्ची खानेपानी आयोजनालगायत विभिन्न आयोजनाहरूको अवस्थाबारे पनि छलफल गरिएको थियो। मन्त्रालयले तोकिएका कार्यहरू समयमै सम्पन्न गर्नका लागि आगामी दिनमा थप योजना र प्रयासहरू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



