काठमाडौं, २६ माघ – खानेपानी मन्त्रालयमा आज बिहान भएको आगलागीबाट कुनै महत्वपूर्ण कागजात नष्ट नभएको खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।
मन्त्रालयमा आगलागी भएपछि मन्त्री यादव, सचिव प्रमिला देवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडि लगायतको टोलीले जलेको कार्यकक्षको अवलोकन गरेका थिए। निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले अत्यावश्यक कागजात सुरक्षित रहेको स्पष्ट पारे।
उहाँले भन्नुभयो, “मैले महत्वपूर्ण कागजात आफ्नो टेबलमा नराख्ने भएकाले कुनै क्षति भएको छैन। म आवश्यक कागजात सचिवसमक्ष पठाउने गर्छु, त्यसैले जलेका कागजात सामान्य मात्रै हुन्।”
विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने बताउँदै मन्त्री यादवले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए। उहाँका अनुसार “हिजो नै विद्युतको तार पोलिएको गन्ध आएको थियो, त्यसैले प्लग निकाल्न भनेको थिएँ। तर, आज बिहान आगलागी भयो।”
करिब ४० देखि ५० लाखको क्षति
आगलागी बिहान ८:४० मा सुरू भएको थियो र करिब ९:१५ मा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। आगलागीबाट मन्त्री यादवको कार्यकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सहसचिव रमाकान्त दुवाडिका अनुसार आगलागीका कारण दुईवटा टेलिभिजन, कम्प्युटर, डेस्कटप, टेबल, सोफा, कुर्सी, कार्पेट, सीसीटीभी मोनिटर र पानी तताउने मेसिन जलेको छ। प्रारम्भिक अनुमान अनुसार, आगलागीबाट रु. ४० देखि ५० लाख सम्मको क्षति भएको हुनसक्ने बताइएको छ।
यस घटनाको विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।


