२०८२ जेठ १। संयुक्त विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनद्वारा लगाइएका आरोपहरूलाई खारेज गर्दै ती भ्रामक र निराधार भएको बताएका छन्। आज जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा संगठनहरूले प्रशासनले सार्वजनिक रूपमा विद्यार्थी संगठनहरूलाई लक्ष्य गरी गरेको आरोपप्रति गम्भीर आपत्ति जनाएका हुन्।

विद्यार्थी संगठनहरूको दाबी छ—क्याम्पस प्रशासनले उनीहरूलाई वार्ताका लागि हालसम्म कुनै औपचारिक निम्तो दिएको छैन। स्ववियु निर्वाचन नजिकिँदै गर्दा फर्जी नामांकनको आरोप उठेको र त्यसबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले कुनै चासो नदेखाएको संगठनहरूको भनाइ छ।
“हामी विद्यार्थीहरूको अधिकार र स्वाभिमानको संरक्षणमा सधैं समर्पित छौं”, प्रेस विज्ञप्तिमा भनिएको छ, “त्यसैले सत्यतथ्य बाहिर ल्याउन र जिम्मेवार निकायको रूपमा निष्पक्ष छानबिनको माग गर्दछौं।”
उनीहरूले क्याम्पस प्रशासनलाई यथासिघ्र संवादमा आउन र निष्पक्ष रूपमा घटनाको छानबिन गर्न आग्रह गरेका छन्।


