नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा सार्वजनिक बहस आवश्यक रहेको भन्दै आफू खुला बहसमा सहभागी हुन तयार रहेको बताएका छन्। उनले देशको नेतृत्व गर्न आकांक्षा राख्ने सबै दल र प्रधानमन्त्रीका दावेदारले एउटै मञ्चमा उभिएर आफ्ना एजेन्डा जनतामाझ स्पष्ट गर्नुपर्ने धारणा अघि सारेका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विचारमा यसपटकको निर्वाचनमा पुराना, अघिल्लो निर्वाचनमा उदाएका र हालै गठन भएका नयाँ दलहरू समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा उत्रिएको उल्लेख गरेका छन्। यस्तो अवस्थामा जनताले स्वाभाविक रूपमा उठाउने प्रश्न—कुन दलले विगतमा के योगदान गर्यो, देश निर्माणमा कस्तो भूमिका खेल्यो र अबको कार्ययोजना के हो—यी सबैको जवाफ सार्वजनिक बहसबाट दिनु सकारात्मक हुने उनको भनाइ छ।
उनले भनेका छन्, “सार्वजनिक मञ्चमा आमने–सामने उभिएर विगतका कामको तथ्य प्रस्तुत गर्ने र भविष्यको स्पष्ट रोडम्याप राख्ने अवसर सबैका लागि खुला हुनुपर्छ।” ओलीले आफूले अघिल्लो कार्यकालमा गरेका काम र आगामी दिनमा अघि बढाउने योजनाबारे स्पष्ट रूपमा बहस गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
साथै, निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा दाबी प्रस्तुत गर्ने सबै नेताहरूलाई प्रत्यक्ष प्रश्न–उत्तरको ढाँचामा जनताको अगाडि उभ्याउने किसिमको पब्लिक डिबेट आयोजना गर्न उनले सरोकारवाला निकायलाई आग्रह गरेका छन्। यस्तो बहसले जनतालाई सही निर्णय गर्न सहयोग पुग्ने र लोकतान्त्रिक अभ्यास अझ सबल हुने ओलीको निष्कर्ष छ।


