
काठमाडौं, २० पुस – काठमाडौं र ललितपुरका केही स्थानमा आज तीन घण्टासम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, जोरपाटी वितरण केन्द्रअन्तर्गतको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गत युएन पार्क फिडरमा विद्युत सेवा बन्द हुनेछ।

काठमाडौंका प्रभावित क्षेत्रहरू
साँखु फिडरअन्तर्गत नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी, आलापोट तथा ठिमीको बोडे फिडरअन्तर्गत मुलपानी पिपलबोट, मुलपानीचौर, नेपाल टेलिकम ब्रम्हखेल, नयापाटी, बागधारा आदि क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।
प्राधिकरणका अनुसार पेप्सी–मुलपानी सडकमा कल्भर्ट निर्माणका क्रममा बाधा पुगेको एचटी पोल स्थानान्तरण गर्न फिडर बन्द गर्नुपर्ने भएको हो।
ललितपुरका प्रभावित क्षेत्रहरू
युएन पार्क फिडरअन्तर्गत शंखमूल, युएन पार्क, र शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुनेछ। प्राधिकरणले त्यहाँ विद्युतीय तार भूमिगत गर्नुपर्ने कामका लागि फिडर सटडाउन गर्न लागेको जनाएको छ।
समय अघि नै काम सम्पन्न हुने सम्भावना
प्राधिकरणका अनुसार, निर्धारित काम समयअघि नै सकिएमा विद्युत सेवा तोकिएको समयभन्दा पहिले नै सुचारु गरिनेछ।
विद्युत कटौतीले प्रभावित क्षेत्रका नागरिकलाई असुविधा भए पनि यसबाट भविष्यमा विद्युत आपूर्ति थप व्यवस्थित हुने प्राधिकरणको दाबी छ।


