काठमाडौं – नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको भ्रष्टाचारविरोधी खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ। माओवादी केन्द्रका उपत्यका विशेष, बागमती र सम्पर्क समन्वय प्रदेश समितिको पहलमा यो जुलुस सुरु भएको हो, जसले राजधानीमा भ्रष्टाचार र बेथिति विरुद्ध जनमतलाई संगठित बनाउन प्रयास गरिरहेको छ।
सुन्धाराबाट सुरु भएको यो जुलुस विभिन्न मार्ग हुँदै प्रदर्शनीमार्ग पुगेर खबरदारी सभामा परिणत हुनेछ। सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ।
माओवादी केन्द्रले सरकारको विभिन्न गतिविधि प्रति असन्तुष्टि जनाउँदै १० बुँदे एजेन्डासहित प्रदर्शनको आयोजना गरेको हो। विशेष गरी विपत व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारी, र योजना विहिनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण तथा पुनर्निर्माण र पुनर्स्थापनाका कामहरूको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउन सभा आयोजना गरिएको बताइएको छ।
साथै, माओवादी केन्द्रले विगतमा आफूले अघि सारेको सुशासन अभियानमा भइरहेको भ्रष्टाचार र षड्यन्त्रजन्य गतिविधिलाई रोक्न, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्य पनि राखेको छ।
सभाको एजेन्डामा अन्य विषयहरू पनि छन्। विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायजस्ता विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने, ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारवाहीको दायरामा ल्याउने, संविधान र लोकतन्त्रको रक्षा गर्ने र दुई दलीय व्यवस्थामा देशलाई तानाशाहीमा लैजाने प्रयासलाई असफल पार्न समेत माओवादी केन्द्रको खबरदारी रहेको छ।
सार्वजनिक संस्थाहरूमा गलत हस्तक्षेप, निजीकरणका नाममा गरिएको विक्रीको तयारी, शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको राजनीतिकरणको प्रतिवाद, र बढ्दो महङ्गाई नियन्त्रणका लागि दबाब दिन पनि माओवादी केन्द्रले जुलुस र सभाको आयोजनामा जोड दिएको छ। साथै, सहकारी, मिटरब्याज र लघुवित्त पिडितहरूको समस्याको समाधान र ठगी नियन्त्रणका लागि कडा कारबाहीको माग गरिएको छ।
यो खबरदारीसभाले राष्ट्रिय हित, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सरकारलाई दबाब दिने माओवादी केन्द्रको उद्देश्यलाई अझ प्रस्ट रुपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


