कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बजार नजिकै दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। चितुवा श्रीकृष्ण सामुदायिक वनको पूर्व-पश्चिम राजमार्ग छेउको घाटगद्दी क्षेत्रमा देखिएको हो।

चितुवा देखिएपछि स्थानीयले होहल्ला गरी त्यसलाई वन क्षेत्रभित्रै भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले जानकारी दिनुभयो। ऐरका अनुसार कलुवापुर र अमरपुरको बस्ती आसपास दिउँसै हिंस्रक जनावर देखिन थालेपछि बासिन्दा डराएका छन्।
गत साता मात्र पूर्व-पश्चिम राजमार्गको वनहरा पुल नजिक पाटेबाघ देखिएको स्थानीयले बताएका थिए। ऐरका अनुसार सामुदायिक वनमा घना झाडी बढेपछि जङ्गली जनावरहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। नीलगाई, चितल, बँदेलजस्ता जनावर देखिने क्रमसँगै चितुवा र बाघजस्ता हिंस्रक जनावर पनि देखिन थालेका छन्।
सुरक्षाको कारणले सामुदायिक वनको सभाहलमा हुँदै आएको बिहानको योगाभ्यास कार्यक्रम पनि बन्द गर्नुपरेको छ। स्थानीय टेकबहादुर भण्डारीले दिउँसै चितुवा देखिन थालेपछि साँझमा हिँड्डुल गर्नसमेत डराउनुपर्ने अवस्था आएको बताउनुभयो।
स्थानीय बासिन्दाले वन क्षेत्रको सुरक्षा र हिंस्रक जनावरहरूको नियन्त्रणका लागि तत्काल कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।


