काठमाडौं । राष्ट्रियसभामा रिक्त हुन लागेका सदस्य पद पूर्तिका लागि आज निर्वाचन प्रक्रिया अघि बढाइएको छ। निर्वाचन आयोगका अनुसार २०८२ फागुन २० गतेदेखि खाली हुने १८ पदमध्ये १७ पदका लागि आज माघ ११ गते मतदान भइरहेको छ। मतदान कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म देशभरका सातै प्रदेशमा एकै समयमा सञ्चालन हुनेछ।
१८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूह अन्तर्गतको एक पदमा भने उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएअनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा उक्त समूहबाट निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनका लागि प्रत्येक प्रदेशमा मतदानस्थल तोकिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ। मधेस प्रदेशका मतदाताले जनकपुर उपमहानगरपालिका–४ मा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान गर्न पाउनेछन्।
बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र बनाइएको छ। गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ भने लुम्बिनी प्रदेशमा घोराही दाङको कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको छ।
यसैगरी, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशका लागि धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र तोकिएको छ।
कानुनी प्रावधानअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने व्यवस्था छ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।


